छैठौं वार्षिक साधारण सभा - २०८१

 

वनस्पति समाज नेपाल

छैठौं वार्षिक साधारण

 

वनस्पति समाज नेपालको छैठौं वार्षिक साधारण सभा मिति २०८१।2।२७ गते वनस्पति विभाग, थापाथलीको प्राङ्गणमा डा. सन्जीव कुमार राईको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भयो । सो सभामा सदस्यहरुको भौतिक रुपमा वृहत उपस्थितिको साथै काठमाडौं बाहिरका सदस्यहरुले विद्युतिय माध्यमद्वारा उपस्थिति जनाउनु भएको थियो । समाजका उपाध्यक्ष डा. हरि प्रसाद अर्यालले उपस्थित सदस्यहरु तथा अतिथिहरुको स्वागत गर्नुभएको थियो भने समाजका कोषाध्यक्ष डा. सीर्जना महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै समाजका अध्यक्ष डा. सन्जीव कुमार राईले समाजको वार्षिक कार्य प्रगतिको विवरण र आगामी वर्षको लागि लेखा परिक्षकको नियुक्तिको साथै कार्ययोजना अनुमोदनको लागि प्रस्तुत गर्नुभएको थियो । सभामा प्रस्तुत भएका प्रतिवेदनहरुका साथै कार्ययोजनाहरु सर्वसम्मत रुपमा अनुमोदन गरिएको थियो ।

सो सभामा वनस्पति विधामा निरन्तर रुपमा लामो समय सम्म पुर्याउनु भएको योगदानको कदर गर्दै वरिष्ठ वनस्पतिविद् तथा आजिवन सदस्यहरु प्रा. डा. हरिदत्त लेखक र डा. तारा केशरी राजभण्डारीलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरुले वनस्पति विधामा पुर्याउनु भएको योगदानको संक्षिप्त जानकारी समाजका सचिव डा. नारायण प्रसाद घिमिरेले दिनुभएको थियो । वरिष्ठ वनस्पतिविद् डा. तिर्थ बहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी डा. तिमीला श्रेष्ठको सहयोगमा वि. सं. २०८० सालमा समाजद्वारा स्थापित तीर्थ-तिमीला पदक वि.सं. २०८१ को लागि युवा वनस्पतिशास्त्री श्री रिता क्षेत्रीलाई वरिष्ठ वनस्पतिविद् डा. तीर्थ बहादुर श्रेष्ठले प्रदान गर्नुभएको थियो । तीर्थ-तिमीला वनस्पति पदक बारे समाजका निवर्तमान अध्यक्ष प्रा. डा. मोहन सिवाकोटीले प्रकाश पार्नुभएको थियो ।

यस भव्य समारोहमा “वनस्पति समाज नेपाल छात्रवृत्ति कोष” को स्थापनाको घोषणा समाजका अध्यक्ष डा. राईले गर्नुभएको थियो । सो छात्रवृत्ति कोषमा प्रा. डा. अभय कुमार दासको स्मृतिमा नीजकी धर्मपत्नी श्री शीला दासले रु. 1,25,000 ।- (अक्षरेपी एक लाख पच्चीस हजार मात्र) प्रदान गर्नुभएकोमा सधन्यवाद सहित श्री शीला दासलाई प्रशंसापत्र प्रदान गरिएको थियो । वनस्पति समाज नेपाल छात्रवृत्ति कोषको बैंक व्याजको रकमबाट वनस्पति शास्त्रमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई अनुसन्धानमा सहयोग गर्ने लक्ष्य रहेको र छात्रवृत्ति कोषमा थप रकमको लागि समाजका सदस्य तथा दाताहरुसँग अनुरोध गर्दै भविष्यमा छात्रवृत्ति कोषको राशि बढाईने जानकारी समाजका अध्यक्ष डा. राईले सभालाई दिनुको साथै सो कोषमा रकम सहयोगको लागि अनुरोध समेत गर्नुभएको थियो । सभामा स्व. प्रा. डा. अभय कुमार दासको संक्षिप्त जीवनीमा कार्य समिति सदस्य डा. विन्दु पोखरेल (भट्टराई) ले प्रकाश पार्नु भएको थियो ।

वनस्पति समाज नेपालले प्रकाशन गरेको “Nepal Journal of Botany” को प्रथम अंकको विमोचन प्रोफेसर इमिरेटस डा. प्रमोद कुमार झाले गर्नुभएको थियो र सो जर्नलबारे प्रधान सम्पादक तथा वनस्पति शास्त्र केन्द्रिय विभाग, त्रि. वि. की प्रमुख प्रा. डा. संगीता राजभण्डारीले प्रकाश पार्नुभएको थियो ।

प्रस्तुत सभामा वनस्पति समाज नेपालले छोटो समयमा गरेको उपलब्धिबारे चर्चा गर्दै भविष्यमा अझ प्रगतिको शुभकामना सहित डा. तीर्थ बहादुर श्रेष्ठ, प्रोफेसर इमिरेटस डा. प्रमोद कुमार झा, वनस्पति विभागका उपमहानिर्देशक एवं नेपाल केमिकल सोसाईटिका उपाध्यक्ष श्री सरोज कुमार चौधरीले मन्तव्य व्यक्त गर्नुभएको थियो । वरिष्ठ वनस्पतिविद् प्रा. ड. हरिदत्त लेखकद्वारा उद् घाटन गरिएको यो वार्षिक साधारण सभा समाजका अध्यक्ष तथा वनस्पति विभागका महानिर्देशक डा. सन्जीव कुमार राईले धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य श्री दिपक लामिछानेले गर्नु भएको थियो ।

News & Articles
+ view all